WHAT'S NEW?
Loading...

Chulachuli online Radio

कविताको एउटा टाकुरो

 प्रवीण बानियाँ
हामीकहाँ थुप्रै कवि खडा छन् । उनीहरू केही न केही लेखिरहेकै छन् । कोही कवितामा हीनताबोध, कुण्ठा र आक्रोश लेखिरहेका छन् । कोही राजनीतिक दर्शनको चस्मा लगाएर नारा र सिद्धान्तका बासी कुरा लेखिरहेका छन् । कोही मरन्च्याँसे तर्कना गाइरहेका छन्, कवितामा । अनि, कोही वैकल्पिक शक्ति र सौन्दर्यको खोजीमा फरक कविता पनि लेखिरहेका छन् । थाहा छैन, युवा कवि हेमप्रभास कविताको कुन बाटो हिँडेर यहाँसम्म आए र अब कुन बाटो हिँड्छन्, तर यसपटक उनी ‘गीतैगीतको गाउँ’ लिएर सहर पसेका छन् । उनको आगमन बडो रमाइलो छ ।
नेपाली कविता अहिले बहसको अवस्थामा छ । मानुम, यो हाम्रो कवितामा नयाँ कुराको आविष्कार गर्ने असल प्रयास हो । यो विमर्शका निम्ति तयार हुनेहरू लेखिरहेका छन् । नलेख्नेहरू बोलिरहेका छन् । यस्तो बेला एकथरी कवितामा विवेकहीन हल्ला गरिरहेका छन्, जो आफैं खतरामा पर्दैछन् । अर्काथरी कविताको पुरानै बाटोमा छन्, तिनीहरूलाई अग्रगमनको बाटोमा निस्कन कुनै हतार छैन । तर, कवि हेमप्रभास त्यो भीडभन्दा पर छन् । उनी वर्तमान पुस्ताका त्यस्ता प्रतिनिधि कवि हुन्, जो कविताको यौटा फरक बाटो, कविताको भर्जिनिटी र नयाँ किसिमको कोरियोग्राफीको खोजीमा छन् । उनको नवीनतम् कविताकृति ‘गीतैगीतको गाउँ’ प्रशस्तै नयाँपन लिएर आएको छ, कवितामा ।
कुनै यौटा कविले स्थापित गरेको लेखन शैलीलाई पछ्याएर हाम्रो काव्यविकास हुन सक्दैन । नयाँ कविहरू पुरानो शैली र परम्पराबाट मुक्त नभई काव्यले नयाँ बाटो हिँड्ने कुरा केवल झुठमात्रै हुन्छ । त्यसनिम्ति हरेक कविसँग पृथक शैली र विकल्प चाहिन्छ । नयाँ कुरा चाहिन्छ । अन्यथा, हामीले चाहेको नयाँ कुराको वितरण कठिन हुन्छ, कवितामा । कवि हेमप्रभास त्यही कित्ताका कवि हुन्, जोसँग आफ्नो छुट्टै काव्यशिल्पी छ । सुकिलो चेतना छ । त्यसैको बलमा उनी कविताको क्षेत्रमा आफ्नो अलग पहिचान बनाइरहेका छन् । ‘गीतैगीतको गाउँ’भित्रका ३२ थान कविता त्यसका साक्ष्य हुन् । जसले हेमप्रभासलाई बिस्तारै उन्नत काव्यशिखरमा चढाइरहेछ । जब हेमप्रभासजस्ता प्रतिनिधि कवि कविताकर्ममा इमान्दारपूर्वक पसिना बगाउन थाल्छन्, त्यसबेला हाम्रो सुदूर कविताको क्षितिज बिस्तारै उघ्रिन थाल्छ ।
खासगरी कवि हेमप्रभास आफ्ना केही शैली र क्षमताका कारण अरुभन्दा अलग छन् । उनी कुनै मञ्चमा उभिएर लिखत नेहरी ५०औं कविता भन्न सक्छन्, यसलाई कविताप्रतिको उनको ‘सेल्फ्कन्फिडेन्स्’ मान्दिँदा हुन्छ । आफ्ना छाडी उनलाई अरु कविका कविता पनि कण्ठै हुन्छन्, यस्तो क्षमता कविमा विरलै होला । बाँकी कुरा उनका कवितामा पाइने निजत्व हो । शैली हो । आफैंले निर्माण गरेको त्यो ‘फम्र्याट’ उनको कविताको मूल शक्ति हो । पुराना र परम्परावादी कविताको ह्याङमै झुन्डिरहेका कवि र पाठक दुवैका निम्ति यी कविता नयाँ लाग्छन् । पुरानो शैलीका कविता पढ्दै आइरहेका पाठकमा यी कविताले प्रशस्तै ठाउँ लिन्छन् । यदि नेपाली कवितामा कोही नयाँ कुरा पर्खिरहेको छ भने पनि उसका लागि यी कविता सुन्दर विकल्प हुन सक्छन् ।
खासगरी हेमप्रभास फरक कोरियोग्राफीमा कविता लेख्ने कवि हुन् । बरु, फरक भनिने कुराले बहसको माग गर्ला, त्यहाँ फरक मत देखिन सक्लान्, यो स्वभाविकै हो । खास कुरा पुरानो कुरामा कसरी र कुन समयमा क्रमभङ्ग हुन्छ भन्ने कुराचाहिँ मुख्य हो । यसरी हेर्दा हेमप्रभास परम्परावादी नेपाली कविताको धारलाई क्रमभङ्ग गर्न उठेका एक हस्तक्षेप हुन् भन्न सकिन्छ । नयाँ कृतिमार्फत उनले जुन उपस्थिति देखाएका छन्, त्यसबाट यथास्थितिमा रमाइरहेका कविको चेहरा अचानक धमिलो हुनेछ, कवितालाई मजाक बनाइरहेकाहरू पाखा लाग्नेछन् । अनि, नेपाली कवितालाई नयाँ बाटोबाट हिँडाउन चाहानेले उनका कवितालाई हृदयी स्वागत गर्नेछन् ।
नामबाटै थाहा हुन्छ, ‘गीतैगीतको गाउँ’ ग्रामीण जनजीवनको भाका हो । यथार्थमा गाउँ कसरी बाँचेको हुन्छ, त्यहाँका सुख–दुःखका रङहरू उकाली–ओराली कस्ता हुन्छन्, पिरहरूका ठाडा खोला कसरी बगिरहेका छन्, अभावका पहाड कसरी अग्लिहरेका छन् र जवान गाउँहरू कसरी मुग्लान पसिरहेका छन् भन्ने कुरा हेमप्रभासका कवितामा सग्लो रूपमा आएका छन् । उसो त उनका कवितामा गाउँका गीतमात्रै छैनन्, सहरका कर्कसपूर्ण आवाज पनि छन् । सहरका आम समस्या र पीडा कविताले उस्तैगरी गाएका छन् । गाउँमा सुनिने चराहरूको गीत, हरियो वसन्त भिœयाउने रुखहरू, किसान र भरियाका जिन्दगीका सुस्केराहरू, खेत–खलियान आदि उनका कविताका खास सौन्दर्य हुन् । त्यसैगरी, सहर र त्यहाँको जिन्दगीसँग गाँसिन आइपुग्ने अनेक पाटाहरू पनि उनका कविताका मूल विषय हुन् । हेमप्रभासले आफ्ना कवितामा आफू बाँचेको समय र समाज लेखेका छन्, यो नै यौटा इमान्दर कविको धर्म हो ।
हेमप्रभासका कवितामा पाइने सबैभन्दा सबल पक्ष हो– भाषाको प्रयोग र विम्बको निर्माण । प्रायः प्रयोग भइरहने र चलनचल्तीका विम्बहरू पढ्दै आइरहेका पाठकका निम्ति हेमप्रभासका कवितामा विशेष राहत मिल्छ । कविले आफ्ना कवितामा परम्परा र प्रयोगमा आइरहेका सीमित विम्बविधानलाई नसमातेर नयाँ–नयाँ विम्बहरूको खोजी गरेका छन् । चोखा र सुन्दर विम्बहरू निर्माण गर्न र प्रयोग गर्नसक्ने कविमा जुन खुबी छ, त्यो असाधारण छ । नयाँ मिथकहरूको आविष्कार गर्ने र पुराना मिथकहरूलाई पनि समयानुसार मानवीकरण गर्ने उनको जुन प्रयास छ, त्यो आफैंमा प्रशंसनीय र रहस्मयी छ । उनका हरेक कविता पढ्दा कुनै पाठकलाई विम्बैविम्ब पढिरहेजस्तो लाग्छ, कविता पढिसक्दा पाठकले मीठो आनन्द लिइसक्छ, वास्तवमा उनका कविताको खास आकर्षण यही हो । सायद, त्यही आकर्षणलाई कविताको शक्ति मानिन्छ ।
हेमप्रभास कवितामा विम्बहरूको बाक्लो प्रयोग गर्न रुचाउँछन् । अघिल्ला कृतिहरुझैं प्रस्तुत कृतिमा पनि
हेमप्रभास त्यही शैलीमा आएका छन् । तर, यसपटक उनी निकै सतर्क र जिम्मेवार बनेर आएका छन् । विम्बहरूको प्रयोग घना नै भएपनि त्यसलाई सरल बनाउने कुरामा उनको विशेष ध्यान गएको देखिन्छ । कवितामा भाषाको निर्माण र प्रस्तुतिमा नयाँपन छ । भाषा रहस्मयी र गतिवान् छ । उनका कविताको भाषामा पाइने स्फुर्तिले पाठकलाई तानिरहन्छ । प्रकृति, देश, युद्ध, प्रेम, यौन समाज आदि विविध विषयमा लेखिएका सुकिला र बलिया कविता छानी–छानी पढ्न पाइने सुविधा ‘गीतैगीतको गाउँ’मा छ ।
हेमप्रभासका कवितामा टिप्पणी गर्ने ठाउँ पनि छन् । कतिपय अवस्थामा विम्ब, मिथकको चापपूर्ण प्रयोग राम्रो कविताका निम्ति खतरा भइदिन्छ । दर्शनको निर्माण, विचार संप्रेषण, विम्बनिर्माण र प्रयोग, भाषाको कोमलता र कला पक्षबीच सन्तुलन भत्किँदा कहिलेकाहीं सबै कविताले समान उचाइ लिन सक्दैनन् । यी कवितामा पनि यदाकदा त्यो अनभूत हुन्छ । केही कवितामा विम्बपक्ष हावी छ । बेलाबेला कवि धरातल छोडेर माथि–माथि उडेजस्तो लाग्छ, असल कविताका निम्ति त्यो घाटाको कुरा हुन्छ ।

                                          
                                         
गीतैगीतको गाउँ
                                          लेखकः हेमप्रभास
                                          प्रकाशकः स्कलर्स पब्लिकेसन
                                          मूल्य रु : १८९/-

0 प्रतिकृया: