WHAT'S NEW?
Loading...

Chulachuli online Radio

ओराङफुङ जस्तै गायिका देशु सुहाङ

ओराङफुङ जस्तै गायिका देशु सुहाङ3 ओराङफुङ, गाउँको नाम भने नि फूलको नाम भने नि यो पाँचथरको सुभाङको वडा नम्बर-८ मा पर्ने फूल जस्तै सुन्दर गाउँको नाम हो । लिम्बूहरूको बाहुल्यता रहेको यो गाउँ लिम्बू सँस्कृति-सँस्कार र कलाको स्रोत हो । फूलै फूलको जस्तो जोवान कतिन्जेल फुल्छ र ओईली जान्छ कि म पनि कहाँ भेटुँ मनले भन्छ नि हे रुमाल सुकाई देऊ मायाको त्यो गाँठो मनले फुकाईदेऊ 'रुमाल सुकाई देऊ' एल्बमको यो चर्चित गीतको गायिका देशु सुहाङ आमा पदम माया सुहाङ र बुवा पदम बहादुर सुहाङको कोखमा २०३० सालमा यै सुन्दर ओराङफुङमा नै ओराङफुङ जस्तै भएर जन्मिएकी थिइन । यै गाउँले उनलाई गीत-सङ्गीतमा लाग्ने प्रेरणा दियो र कक्षा-६ पढ्दादेखि नै आफ्नो कला-स्वर सार्वजनिक गर्न थालेकी थिइन । काठमाडौमा पढाई तथा सङ्गीतकोलागि छिरेकी गायिका देशु सुहाङले २०५० सालमा रेडियो नेपालमा स्वर परिक्षा उतिर्ण गरेकी हुन् । जम्मा ४०० भन्दा धेरै गीत गाईसकेकी गायिकाका एल्बमहरू 'मनको बह' र 'रुमाल सुकाई देऊ' -लोकगीत एल्बम, 'छोपिइको जून'-आधुनिक गीतको एल्बम तथा 'आहिङमान' लिम्बू गीतको एल्बम प्रकाशित छन् । विशेष: लोकगीत नै लोकको गीत हुनसक्छ र गाउन सक्यो भने लोकगीत मै सन्तुष्टी, चर्चा र सफलता पाउन सकिन्छ भन्ने मान्यता राख्ने गायिकाले समय अनुसार राम्रो चर्चा र सफलता हाँसिल गर्दै गईन । नेविसंका केन्द्रीय उपादक्ष विध्यार्थी नेता टङ्क बिक्रम नेम्बाङसँग विवाह बन्धनमा बाँधिएर पनि उनको साङ्गीतिक यात्राले नियमितता पाईरह्यो । छोरी ईक्सा नेम्बाङ र छोरा मिङ्सो हाङ नेम्बाङको मातृ-ब्यस्तताले पनि उनलाई गायनमा वाधा गरेन । क्रमश: उनका राम्रा-राम्रा गीतहरू आईरहे । चर्चा बढिरह्यो । तर, विधीको विडम्बना पनि घातक भईदियो । २०६५ कार्तिक-१७ गते उनको जीवनको कालो दिनको रुपमा उभिएर आयो । आफ्ना ३५ बर्षे जवान श्रीमानलाई दुर्घटनाले टिपेर लगिदियो । यो दुर्घटनाले
गायिकाको गला मात्र रुकेन,जीवनको सहारा नै खोसिदियो । ओराङफुङकी ओराङफुङलाई भाग्यले धुजा-धुजा फटाईदियो । साथमा रहेका छोरी र छोराको मुहार हेरेर मन थामिन् । बाँकी जीवनलाई छोरा-छोरीको लागि चलाउन हिम्मत गरिन् । आफ्ना पीडा, दु:ख र समस्याका बाबजुद पनि उनीभित्रको गीत-सङ्गीतको मोह मर्न सकेन । केहि समय ब्यवशायीक रुपमा गीतहरू प्रकाशन गर्न नसकेपनि आफ्ना वेदना, एक्लोपन र पीडालाई लुकी-लुकी आँसु मिसाई मनमनै एक्लै-एक्लै गाईरहिन् । कलिला नानीहरूलाई एक्लै सम्हाल्दै जीवन चलाउँदै गईन । हुर्काउँदै गईन । उनीभित्र गायन सौख बिउँतिएर आयो । आफ्नो दु:खमा मन सम्हाल्न गायन नै उनको सहारा जस्तै बन्दै गयो । उनका गीतहरू फेरि रेकर्ड हुन थाले । नानीहरू पनि हुर्कँदै गए । नानीहरूको लालनपालनको लागि सानो जागिर पनि मिल्यो । गायिकाभित्र अझै आशा र हिम्मतको बिजारोपण भएर आयो । नयाँ-नयाँ गीतहरू पनि आउन थाल्यो । अब लोक दोहोरी तथा आधुनिक गीतहरूको रेकर्डको योजना बनाईरहेकी गायिकाले दैनिक जीवन निकै कठिनताका साथ दैनिकी गुजारिरहेकी छिन् । काठमाडौ जस्तो महँगीमा नानीहरूको पढाई र लालनपालन गर्न एक्लै सानो जागिर खाँदै सँघर्ष गरिरहेकी छिन् । नानीहरूलाई एसएलसी सम्म पढाउन पाए हुन्थ्यो भन्ने उनको चाहना छ । तर खाईरहेको जागिर खोस्न समेत मान्छेहरू लागी परेका बताउँछिन् । हुन पनि अरुको कमजोरीमा दाउ हान्ने मान्छेहरू प्रसस्त छन्, । राज्य र सम्बन्धित निकायले कलाकारहरूलाई हेर्ने वातावरण नेपालमा बनिसकेको छैन । तर पनि गायिका हिम्मतिला लाग्छन् । स्रोताहरूले माया गरुन्जेल र आफ्नो गलाले साथ दिउन्जेल गायन नछोड्ने प्रिवद्धताकासाथ ओराङफुङ ओइलिन सकेन र फेरि मग्मगाउन थालेको छ । पहिलेको जस्तो क्यासेट र सिडी बिक्दैन । पाइरेसीले गर्दा पैसा उठाउन गाह्रो छ । तर रेकर्डिङ खर्च बढेर गएको छ । अहिले अडियो मात्र पनि सुन्ने चलन हराउन थालेको छ । भिडियो बनाउन नि ठूलै रकम चाहिन्छ । यस्तो अवस्थामा राम्रो गायक-गायिकाहरूसित पैसा हुनु पर्यो कि त देश-बिदेश गीत गाउन जानकालागि राम्रो च्यानल मिलाउन जान्नु पर्यो । अन्यथा अरुण थापाको कहानी भोग्नु पर्छ । यस्तो अवस्थामा पनि 'निरन्तर गीत गाईरहन्छु ।' भन्ने गायिका आफैँमा गर्ब गर्न लायक प्रेरणाका स्रोत हुन् । स्थानीय तथा हङकङ पुगेर पनि उनले स्टेज कार्यक्रमहरूमा गीत गाईरहेकी छिन् । लोकगीतलाई आफ्नो प्रीय गीत सम्झिने गायिकाले आउँदो हप्ता गीतकार केशर माङयुङ सुब्बाको शब्द, खगेन्द्र पन्धाक लिम्बू सङ्गीतमा 'राम नवमी बजार आउनु है माया ..' गीतको दोहोरी गायक कृष्णभक्त राईसँग रेकर्ड गर्न तयारी गरिरहेकी छिन् । लिम्बू गीत गाएर लिम्बू स्रोताहरू माझ पनि आफ्नो विशिष्ट स्थान बनाएकी गायिकाले लिम्बू गीतहरू पनि साह्रै ठेट र मीठो गाउने गर्दछिन । गीत-सङ्गीत-गायनलाई आफ्नो जीवनको अभिन्न मान्ने मीठो स्वरकी धनी गायिका यानेकी ओराङफुङ कहिल्यै ओईलाउने छैनन् भन्ने हाम्रो विश्वास र कामना छ ।

0 प्रतिकृया: