WHAT'S NEW?
Loading...

Chulachuli online Radio

जबर्जस्ती गरे प्रतिवाद: विपक्षी

काठमाडौ, माघ २ - एमाओवादी र मधेशीसहितका विपक्षी दलहरुले आफ्नो सहमतिबिना संविधान निर्माण प्रक्रिया अघि बढ्न नसक्ने भन्दै त्यसो गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उनीहरुले कांग्रेस, एमालेसहितको सत्तापक्षले बिना सहमति प्रक्रिया अघि बढाउन गरेको तयारी संविधानसभा नियमावली बिपरित हुने दावी गरेका छन् ।

संविधानसभाको संवाद समितिले पेश गरेका प्रतिवेदनमा छलफल हुने अघिल्लो दिन बिहीबार बसेको बिपक्षी दलको बैठकले कार्यब्यबस्था परामर्श समितिको निर्णयबिना प्रक्रिया अघि बढ्न नसक्ने ठहर गरेको हो । संवाद समितिका सभापति बाबुराम भट्टराईले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले सहमतिको संभावना अझै देखाएको उल्लेख गर्दै संविधानसभामा त्यसमाथि छलफल सुरु भए पनि सहमति प्रयास जारी रहने बताए ।
'कार्यब्यवस्था परामर्श समितिको निर्णयअनुसार संविधानसभा कसरी अघि बढ्छ भन्ने टुंगो लाग्नेछ' उनले कान्तिपुरसंग भने, 'सभामुख आफै कानुनबिद भएकाले संविधानसभा नियमावली बिपरित जानुहुन्छ जस्तो लाग्दैन ।' उनले नियमावलीमा प्रश्नावली बनाउने व्यवस्था संवाद समितिमा मात्र भएको र त्यसैका लागि अर्को समिति बनाउन नमिल्ने बताए  । 'बहुमतीय प्रक्रियामा जाने हो भने पनि नियमावली अनुसारै जानु पर्ने हुन्छ' उनको भनाइ छ । उनले बिगत जनआन्दोलनका सहयात्री दलहरूबीच सहमतिको विकल्प बन्द भए मुलुक संकटतर्फ लग्ने बताए । 'संवाद समितिको प्रतिवेदनमा छलफल अघि बढाउँदा पनि सहमति प्रयास जारी राख्नुपर्छ' उनले भने ।
दाहाल र भट्टराईबीच शुक्रबार संविधानसभामा कसरी प्रस्तुत हुनेबारे लाजिम्पाटमा करिब एक घण्टा सल्लाह भएको थियो । सत्तापक्ष कांग्रेस र एमाले जसरी प्रस्तुत हुन्छन्, त्यसरी नै संविधानसभामा प्रस्तुत हुने दुई नेताबीच सल्लाह भएको छ । यसबारे सभासद्लाई निर्देशन दिन शुक्रबार बिहान संसदीय दलको बैठक सिंहदबारमा बोलाइएको छ ।
एमाओवादी केन्द्रीय कार्यालयमा बिहीबार सभासद् रहेका पदाधिकारी र स्थायी समिति बैठकमा नेताहरुले कांग्रेस, एमालेले जबरजस्त बहुमतीय प्रक्रियामा जान खोजे त्यसको 'संशक्त प्रतिवाद गर्ने' बताएका थिए । 'शान्ति प्रक्रियाको अर्को पक्षको सहमतिबिना प्राप्त उपलब्धि गुम्ने गरी जबरजस्त प्रक्रियामा लान खोजे त्यसको सशक्त प्रतिवाद हुनेछ' कोषाध्यक्ष एवं सभासद् हरिबोल गजुरलेलले भने । 'जबरजस्त गर्न खोजे संविधानसभा अवरुद्ध हुन सक्छ' एमाओवादीका एक नेताले भने । हालसम्म संविधानसभा अवरुद्ध भएको छैन ।
मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादबले सत्तापक्षको कदममा सबै कुरा निर्भर रहने बताएका छन् । 'अहिले सत्ताको उन्माद देखिएको छ, उनीहरु जसरी प्रस्तुत हुन्छन् । हामी त्यसरी नै जवाफ दिनेछौ' उनको भनाइ छ ।
संविधानसभाको बैठक बस्नु अघि प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार बिहान भेटघाट तय भएको छ । दुई नेताबीच राजनीतिक दलहरूबीच बढदै गएको दूरी कम गर्नेबारे कुरा हुनेछ ।

0 प्रतिकृया: