ताप्लेजुङमा बुधबार साँझदेखि परेको अविरल वर्षासँगै विभिन्न गाउँमा गएको पहिरोले पुरिएर ५८ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बेपत्ता हुनेको संख्या अझै यकिन हुन सकेको छैन् ।
बुधबार साँझ ७ः३० बजेदेखि भीषण वर्षा हुन थालेको र वर्षासँगै राती करिव १२ः३० बाट पहिरो बग्न थालेको बताइएको छ । पहिरोले सबैभन्दा बढी मानवीय क्षति लिबाङ गाविसमा पु¥याएको छ । लिबाङ गाविसको वडा नं. १, २, ३ र ४ मा गरी पहिरोले पुरिएर २६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिबाङ ३ का भक्तजन लिम्बू, मनमाया लिम्बु, पञ्चमाया लिम्बू, शैलेन्द्र लिम्बू, चित्तमाया लिम्बू रहेका छन् । यस्तै वडा नं. १ का प्रेम फेम्सोहाङ, अञ्जु लिम्बू, शिक्षा लिम्बू, जुनु लिम्बू, प्रेम लिम्बू, शिशिर लिम्बू, सपना लिम्बू, निमाखाङ्डु शेर्पा रहेका छन् । अन्यको सनाखत भइनसकेको लिबाङ ८ का स्थानीय हेम लिम्बूले जानकारी दिनुभयो ।
यस्तै सान्थाक्रामा १२ जनाको मृत्यु भएको छ । सान्थाक्रा ३ का अमरबहादुर लिम्बू र उनका नाति सुजनको मृत्यु भएको छ । बाँकीको सनाखत हुन सकेको छैन । उता लिङ्तेप र खोक्लिङमा तीन÷तीन जनाको मृत्यु भएको छ । लिङ्तेप ७ का भीमबहादुर केदेम, चमेली लिम्बू र वडा नं. ३ की ३१ वर्षीया मनमाया लिम्बूको मृत्यु भएको छ । यस्तै खोक्लिङ ७ मा ११ वर्षीय सविन मादेन, वडा नं. ८ का १० वर्षीय बसन्त विश्वकर्मा र वडा नं. ५ का मनकुमारी लाम्गादेको मृत्यु भएको छ ।
त्यस्तै थिङ्लाबुमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ६ की मनकुमारी लिम्बू, ६ कै २७ वर्षीया रनु लिम्बू, ७० वर्षीय रिञ्जी शेर्पा, सात वर्षीया सीता लिम्बू, माया लिम्बू, मेनुका लिम्बू, मोहन लिम्बू, सन्तोष थाङ्देन, पुष्पा थाङ्देन र नाम नखुलेकी चन्द्रसिंह लिम्बूकी श्रीमतिको मृत्यु भएको छ । मृतकहरु सबैको पहिरोले पुरिएको अवस्था सव फेला परेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
यता बेपत्ताको संख्या २० जना रहेको प्रहरीले जनाएको छ । उक्त संख्यामध्ये नौ जनाको पुष्टि भएको र अन्य १३ जनाको भने पुष्टि हुन बाँकी नै रहेको प्रहरीले जानकारी दिएको छ । यता स्थानीयबासीले भने बेपत्ता हुनेको संख्या अझ धेरै रहेको बताएका छन् । स्थानीयबासीका अनुसार लिबाङमा ३० जनाभन्दा बढी बेपत्ता छन् । यस्तै थिङ्लाबुमा सात जना र सान्थाक्रामा पनि धेरै बेपत्ता छन् ।
यस्तै पहिरोले पुरिएर घाइते भएका मध्ये १० जनालाई गृहमन्त्रालयले पठाएको नेपाली सेनको हेलिकप्टरमार्फत बिहीबार साँझसम्ममा उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । उनीहरु अधिकांशलाई सुविधासम्पन्न अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहेको अस्पताल स्रोतले जनाएको छ । अन्य धेरै घाइतेहरु छट्पटाइरहेका स्थानीयले बताएका छन् । यसबैची पहिरोले सान्थाक्रा, लिबाङ, थिङ्लाबु, खोक्लिङ, लिङ्तेप लगायतका गाविसमा मात्रै करिव तीन दर्जन घरहरु बगाएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि घर, गोठ, विद्यालय, झोलुङेपुल, पार्टी पौवा पहिरोले बगाएको स्थानीयबासीले जानकारी दिएका छन् । यता बाढी र पहिरोकै कारण खाम्लुङको दोभानबजार उच्च जाखिममा परेको छ । इलाका प्रहरी कार्यालय दोभानका अनुसार दोभान बजारका स्थानीय श्याम लिम्बू, पवन लिम्बू र दावा शेर्पाको घर पहिरोले भत्किसकेको छ । दोभान बजार नजिक बग्ने मैवाखोलामा बाढीसहित पानीको बहाव बढेकाले बजार उच्च जोखिममा परेको र त्यहाँका व्यवसायीसमेत छ दर्जन बढी घरहरुका बासिन्दा अहिले आफ्ना सरसामानहरुसहित सुरक्षित स्थानतिर सरिसकेको स्थानीय व्यापारी मानबहादुर चोङ्बाङले जानकारी दिनुभयो ।
यता पहिरोले पु¥याएको सम्पूर्ण क्षतिको विवरण आउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले जानकारी दिनुभयो । प्रजिअ निरौलाका अनुसार उद्दार र क्षतिको विवरण सङ्कलन गर्नमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सबै निकाय परिचालन भएका छन् । मौसम प्रतिकुलताका कारण गृहमन्त्रालयबाट हेलिकप्टर ल्याइएपनि समयमै घाइते तथा पहिरो पीडितको उद्दार गर्न सकिएको थिएन । यस्तै बिहीबार विहानसम्ममा पानी पर्ने क्रम केही कम भए पनि गाउँबस्तीमा रहेका खोला÷खोल्साहरुमा पानीको मात्रा बढेका र ठाउँठाउँमा पहिरो बग्ने क्रम रहिरहेकाले स्थलगत उद्दारमा समेत कठिनाइ भएकोे थियो ।
0 प्रतिकृया:
Post a Comment