कविता ।पारिजात।
पारिजात |
एउटी विवश बेहुलीको चाहनाजस्तो
उम्कन नसक्ने होइन मुक्ति
पर्यावरण नमिलेको माटोमा
फुट्न नसकेको दाखको बिरुवा होइन मुक्ति
ज्युँदो मान्छेको मुटु ज्युँदो मान्छेले
हत्केलामा यसै निचोर्न सक्दैन
एउटाले अर्कोलाई मार्नैपर्छ यसो गर्नलाई
तथापि, होस् गर्नू– त्यो मुटु मृतकको मुटु हुनेछ ।
छलाउन सक्छ मुक्तिलाई
के हो र मन्त्र मुक्तिको निम्ति ?
लात्ते भकुन्डो होइन मुक्ति
भरौटे खेलाडीहरूको छलाउनलाई यता र उति
होस् गर्नुपर्छ यस्तो सोच्नलाई ।
आकाशभरि पहिलेबाटै
तैनाथ गरेर छरिता बाजाहरूको जमातमा
उडाउँछन् शान्तिकामी हातहरू सेता परेवाहरूको जोडा
शान्तिका प्रतीकहरू, रक्ताम्य अन्तरिक्ष
होस् गर्नू– विडम्बना हुनेछ लुम्बिनी र शान्तिक्षेत्र ।
पट्पट् फुटेर समयानुकूल माटो र ऋतुमा
झाँगिदै, लहरिँदै जान्छन् आन्दोलन बनेर
मुक्तिका चाहनाहरू
चुँडालेर कथित् बलियो बन्धनबाट
आँप, बेल र पिपलका रंगीचंगी पातहरूको ।
निर्धाका मुटु निचोर्नेहरूले
शक्तिशालीका मुटु निचोर्ने हातहरू यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर ।