WHAT'S NEW?
Loading...

Chulachuli online Radio

कविता - उधारो जिन्दगी

खल्ती भरि कार्यक्रमका VIP र VVIP टिकटहरु छन
सहयोगका रसिदहरु उतिनै छन्
बोलकबोलको भाखा नाघेको
महिनौं भइसक्यो
संघसंस्थाको बहिखातामा
थाहा छैन आफैलाई
कहिले सम्ममा फर्छौट गर्नु पर्ने हो
यो कंक्रिटको शहरको
उधारो जिन्दगी ।

झोला भरि
आफन्त कलाकारहरूले पठाएका कोशेली
सि.डि. एल्बमहरु छन्
कवि लेखकहरूले सम्झि पठाएका
पुस्तकहरूको थाक अझ बढदैछ
लेबिले ढाड खत्रक्कै भाचिसक्यो
थाहा छैन आफैलाई
कहिले सम्ममा चुक्ता गर्नु पर्ने हो
यो कंक्रिटको शहरको
उधारो जिन्दगी ।
घरमा श्रीमति र छोराछोरीको
आ–आफ्नै मागहरु छन्
नेपाल बस्ने बुढा आमा बाबाको
सपनाको रास त्यसै लडिरहेछन्
साथीभाईहरुको गुनासो
फेसबुक र भाइबरको म्यासेन्जरमा
त्यसै थाक लागिरहेछन्
थाहा छैन आफैलाई
कहिले सम्ममा सम्बोधन गर्नु पर्ने हो
यो कंक्रिटको शहरको
उधारो जिन्दगी ।

0 प्रतिकृया: