WHAT'S NEW?
Loading...

Chulachuli online Radio

छन्दलेखनका चुनौतीबीच ‘माटो र मुटु’

नरेन्द्र पराशर


न्डै-झन्डै लोपोन्मुख अवस्थामा पुगिसकेको छन्दोबद्ध कवितालेखन पचासको दशकपछि पुनः जाग्रत भएर आएको देखिन्छ । वास्तवमा छन्दभित्र लुकेको दिव्य मोहनीले पाठकको हृदयलाई झंकृत गर्ने अनौठो सामथ्र्य राख्छ । छन्दोबद्ध कविताको सबैभन्दा सवल पक्ष भनेकै यसको सिंगो पाठलाई धेरै दिनसम्म जस्ताको तस्तै कण्ठ पारेर राख्न सकिन्छ जो गद्य कविताको हकमा निकै कठिन वा असम्भव हुने गर्छ । एउटा प्राणसम्पन्न छन्द कविता रचना गर्नका लागि कविमा विशाल हृदयाकाश, सोही प्रकारको शब्दभण्डार, गहिरो जीवनबोध, दीर्घ साधना, उपल्लोकोटिको काव्यचैतन्यको आवश्यकता पर्छ । अक्षर गनेको भरले मात्र तयार पारिएका छन्द कविता कुनै पनि हालतमा दीर्घजीवी हुन सक्दैनन् । साथै, एकै बसाइमा तयार भएका भनिएका छन्द कविता सोही प्रकारले एकै वाचनपछि समाप्त हुन सक्ने सम्भावना पनि उत्तिकै टड्कारो हुन्छ । यसको कुल तात्पर्य के हो भने एउटा उच्चकोटिको छन्दकविता तयार पार्न त्यसले लामो रचनागर्भको माग गर्छ र त्यसउप्रान्त प्रशस्त परिमार्जन र संशोधनसमेतको आवश्यकता पर्छ । अनि मात्र एउटा छन्दकविता साँच्चैको जीवन्त र कालजयी बन्न सक्ने सम्भावना बढ्छ । लेखनाथ पौडेल र माधव घिमिरेका कविता उसै मीठा र राम्रा भएका होइनन् । फर्सीको जराजस्तो अनेक तरहले जेलिएको अमूर्तता छन्दकविताको विशेषता होइन । छन्दसंरचनाको नियमले शाब्दिक छलकपटलाई निर्ममतापूर्वक अस्वीकार गर्छ । यसको के मतलव हुन आउँछ भने छन्दकवितामा सुस्पष्ट सन्देश मूर्तरूपले देखिनैपर्छ । यही कारणले गर्दा गद्यकविताले छन्दोबद्ध कवितालाई साँघुरो र कृत्रिम भएको आरोप लगाइरहन्छ । तैपनि, केही समयअघिसम्म अस्तित्वसंकटको भुमरीमा रुमल्लिएको छन्दकविता आज समुस्कान शिर उचा गर्दै नेपाली साहित्यको रंगमञ्चमा उपस्थित हुने गरेको छ । यसैको पछिल्लो नमुना कवि देवी नेपालको ‘माटो र मुटु’ कवितासंग्रह पनि एक हो । छन्दोबद्ध नेपाली कवितालेखनमा आफूलाई एउटा सशक्त प्रतिभाका रूपमा स्थापित गरिसकेका कवि देवीले माटो र मुटु कवितासंग्रहमा समकालीन नेपाली परिवेशलाई कुशलतापूर्वक सम्बोधन गर्ने प्रयास गरेका छन् । झन्डै पाँच दर्जनजति छन्दोबद्ध कवितामा उनले सामान्यतया देश र जनतालाई केन्द्रमा राखेर नै कविता सिर्जना गरेको देखिन्छ । लगभग पछिल्लो एक दशकमा नेपाली समाजले भोगेको यन्त्रणा, पीडा, छटपटी, निराशा मात्र होइन, उस्तै प्रकारले आशा, उत्साह र जाँगरलाई पनि उनले आफ्ना कविताका भावमा समेट्न सफल भएका छन् । उनका कवितामा समयबोध र त्यसलाई सम्बोधन गर्ने शैली सुन्दर देखिन्छ ।
देशको माया, अन्यायको विरोध, छुवाछूतप्रथाप्रति असहमति, अग्रज गुरुप्रति श्रद्धा, जन्मदातृ जननीप्रति भक्ति, गरिब-दुःखीप्रति सहानुभूति, कवि-साहित्यकारप्रति आदर, पाखापखेरामा बग्ने श्रमप्रति सम्म्ाान व्यक्त भएका कविताले पाठकमा आनन्द सञ्चार गराउँछन् । हरेक लेखकको आफ्नै लेखकीय गुणधर्मिता हुन्छ । कवि देवी नेपालको लेखन सामान्यतया कोमल, विनम्र र विनयशीलताले ओतप्रोत भएको हुने गर्छ । यो नै उनको विशेषता हो । फजुल नारा र चर्का कुराले राजनीतिको खेती रामै्रगरी फस्टाएर चल्न सक्छ, तर साहित्यिक क्षेत्रमा त्यसप्रकारको नारा विशेष परिस्थितिमा बाहेक अरू वेला प्रायः अरुचिकर हुने गरेको तीतो यथार्थ हामीसामु छँदै छ । कवि देवी नेपालले यो कुरालाई राम्ररी बुझेजस्तो लाग्छ । त्यसैले माटो र मुटुका उनका कवितामा कलाविहीन नाराबाजी कमै देखिन्छन् । निपुण र चतुर कविले वैचारिक वा सैद्धान्तिक मूल्य-मान्यतालाई तिनको भाव र मर्म मर्न नदिई कलात्मकताको रंगगरोगनले सुसज्जित पार्न सक्छ । तसर्थ उनको यस संग्रहभित्रका कवितामा जनआन्दोलन-२ ताकाका कविता प्रस्टै बुझिन्छन् र तिनले झड्केलो राजतन्त्रकालीन अँध्यारो कालखण्डको त्रासदीलाई बुझ्न/बुझाउन प्रश्ास्तै सहयोग गरेका छन् । अर्कातिर, उनका कवितामा छन्दको विविधता पनि छ । निकै असजिला मानिने लीलाखेल, नर्दटकजस्ता छन्ददेखि लिएर इन्द्रबज्रा, अनुष्टुप -केही छोटा र सजिला) छन्दको प्रयोगले छन्दकविताको बहुविध रस प्राप्त गर्न अवसर प्राप्त भएको छ भने सर्वसाधारणका नजरभन्दा बाहिर रहेका छन्दलाई सार्वजनिक गर्नु निकै खुसीको कुरा हो । यसले नयाँ पुस्तालाई छन्दमा कलम चलाउन र थप अभिप्रेरणा जाग्रत गराउन सहयोग पुग्ने कुरामा विश्वस्त हुन सकिन्छ । उसैगरी, देवीका कवितामा प्रयोग भएका केही तत्सम शब्दले संस्कृतप्रति मोह राख्नेलाई निकै आनन्दित पार्ने कुरामा कुनै शंका छैन । यस माटो र मुटु कवितासंग्रहमा संग्रहित कवितामा देखिने गति, यति, यमक, अलंकार, विम्ब, प्रतीक र रससहितको लालित्यले पाठकलाई केही हदसम्म भए पनि आनन्दित पार्ने क्षमता राख्छन् ।
छन्दकवितामा साधना गरिरहेका केही भरपर्दा कविमध्ये संस्कृतसमेतको पृष्ठभूमिबाट नेपाली भाषा साहित्यको उच्च अध्ययन गरेका कवि देवी नेपालका कविता सुललित र सौन्दर्यसिक्त हुनुपर्छ भन्ने अपेक्षा नौलो र असान्दर्भिक होइन । र, त्यसमा उनले सामान्यतया सोहीअनुरूप नै प्रस्तुत हुने प्रयास गरेका पनि छन् ।
यति हुँदाहुँदै पनि यस कवितासंग्रहमा संग्रहित कविता पढ्दा फेरि पनि छन्दकविताले खेपेको उही पुरानो आरोप ः परम्परागत धीमापन, सिलोक, भावावेगी प्रलाप, लम्बेतान गन्गनजस्ता कुरा भने हट्न सकेको देखिन्न । सामान्यतया छन्दका फुटकर कविता चार श्लोकभन्दा माथि चढ्नेबित्तिकै तिनमा थेसिस-केन्द्रीय आशय)को समस्या देखिन थाल्ने सम्भावना ह्वात्तै बढेर जान्छ, कि त कविता वर्णनात्मकतामा सीमित हुन पुग्छ । छन्दका फुटकर कविता लामा बनाउनु कविका लागि एउटा जोखिम विषय हो । यसमा कवि नेपालले राम्ररी ध्यान पुर्‍याउन नसकेको प्रतीत हुन्छ । हाम्रो संस्कृतिमा कविको बानी भनेर कविलाई प्रेम र श्रद्धापूर्वक धेरै कुरामा छुट दिने परम्परा पनि रहिआएको छ । किनभने एकैक्षणअघि अन्यायमा परेको कुनै पीडितलाई न्यायका लागि लड्न उक्साइरहेको कवि केही पल्तिर रहेको कुनै छाँगो-छहरानजिकै पुग्दा आहा भात पनि किन चाहियो यही पानीले जीवन चल्न सक्छ भन्ने भावले प्रेरित भएर विस्मित हुन्छ । एकप्रकारले भन्ने हो भने यही फरक र क्षणजीवी सोचाइले नै एउटा कविलाई कवि बनाइरहेको हुन्छ । तर, यसकुरालाई आज-भोलि बढेको वैचारिक लेखकीय जागृतिले विरोधाभासपूर्ण मान्छ । यसप्रकारको विरोधाभासपूर्ण कविता एउटै संग्रहभित्र रहनु खासमा राम्रो मानिँदैन र यस दोषबाट कवि नेपाल बचेका छैनन् । त्यसैगरी आस्था र विचारजस्ता शब्द राख्नेबित्तिकै कविता एकदमै जनमुखी हुन्छ भन्ने कुरा पनि सत्य हो जस्तो लाग्दैन । अमूर्त शब्द राखेर आस्था र विचारको देदीप्यता प्रकट हुन सक्दैन । केही कविताको बान्की हेर्दा जस्तो कि फिछ्र्यौ कि चेली घर शीर्षकको कविताले चेलीबेटीलाई घर फर्किन आह्वान त गरेको छ, तर ती चेली रहेको स्थानबारे केही पनि बताउँदैन । घर फकिर्ंदा राम्रो हो कि उतै कतै बस्दा सुरक्षित हुने हो भन्नेमा कविताले कुनै प्रस्टीकरण दिन सकेको छैन । लक्ष्यः विजयको कविताले पहाड फोड्ने साहसको कुरा त गरेको छ, तर त्यसको गन्तव्यबारे केही बोलेको छैन, कहाँ पुग्दा विजय हुने हो र त्यो के-कस्तो खालको विजय हो भन्ने कुरा अस्पस्ट छ । गुरु कविताले स्कुल वा युनिभर्सिटीका शिक्षक वा प्राध्यापकलाई खुसी पार्न पो खोजेको हो कि भन्ने लाग्छ । मलाई संस्कृतको गुरु शब्दपछाडिको मर्म जागिरे शिक्षकका लागि प्रयुक्त हो जस्तो लाग्दैन, त्यस अर्थमा मात्र यो सुन्दर कविता हो । लुम्बिनी डुबेको, सुस्ता र लिम्पिया -महाकालीको मूल उद्भव) जस्ता सीमामा भएका अतिक्रमणबारे चासो राख्ने कवि त्यसप्रकारको राष्ट्रघात हुँदासमेत मौन बस्नेहरू को-को हुन् भन्ने कुराप्रति भने चुप देखिन्छन् । पूर्वस्मृति कविताको दशौँ पाउमा हिलोमा माछा छुनुमुनु नाच्ने कुरा स्वाभाविक लाग्दैन । तैपनि, कतिपय कवितामा झल्किने आकर्षक सूक्तिमयताले पाठकलाई रोमाञ्चित पार्छ । समग्रमा मानवतावादी भावनात्मक शिष्टताले भरिएका कविता रहेको यस कवितासंग्रहबाट सिक्न चाहनेहरूले छन्द र छन्दलेखनका केही चातुर्य र कलात्मकता भने अवश्य पनि पाउँछन् ।
प्रा.डा. माधव पोखरेलले उक्त कृति विमोचन समारोहमा सिंगो किताव पढ्दा कोड गर्नलायकको कविता एउटा पनि पाइएन भन्ने भावना व्यक्त गर्नुचाहिँ केही चर्कै प्रतिक्रिया हो । घोडा चढ्न साहस देखाउने व्यक्ति नै लड्ने हो, भुइँमा सुतेकाहरू कहिल्यै पनि लड््ने छैनन् । दोष मात्रै खोजेर पस्ने हो भने त आफ्नै शरीरमा पनि गन्हाउने अंग हुन्छन् । पूरै संग्रह पढिसक्दा मलाई कस्तोचाहिँ लाग्यो भने संग्रहित कवितालाई केही फरक-फरक मूल शीर्षकअन्तर्गत राख्न सकेको भए पाठकलाई धेरै प्रकारले सजिलो मात्र होइन, आनन्दित पनि पार्ने थियो । तैपनि, समग्रमा भन्नुपर्दा कवि नेपालका छन्दोबद्ध कविता धेरै अर्थमा शालीन चेतनाले भरिएका छन् र तिनले छन्दको मर्मलाई बचाउने अथक प्रयास गरेका छन् । छन्दकविताको प्रचार-प्रसारमा देश/विदेशसमेत पुगेर परिश्रमपूर्वक खटिरहेका कवि देवीको यस प्रयासलाई हार्दिक साधुवाद !

:नरेन्द्र पराशर

0 प्रतिकृया: