WHAT'S NEW?
Loading...

Chulachuli online Radio

जीतपुरका सबै घरमा सुधारिएको चुल्हो

बिजयशेखर भट्टराई
श्चिमी इलामको जीतपुर गाविसका सवै घरधुरीमा सुधारिएको चुल्हो निर्माण भइसकेपछि उक्त गाविसलाई घरभित्रको धुवाँ प्रदुषणमुक्त घोषणा गरिएको छ । एक हजार पाँच सय ६९ घरधुरी रहेका गाउँका सबै मानिस घोषणा कार्यक्रममा भेला भएका थिए । जिल्ला विकास समिति इलामका योजना अनुगमन तथा प्रशासकीय अधिकृत चोलाराज पोख्रेलले घोषणा सभाको उद्घाटन गरेका थिए ।
 
दाउरा काट्न पठाउने र खाना पकाउने समय सुधारिएको चुल्हो निर्माणले बचत गर्ने र उक्त समयमा नानीहरुलाई विद्यालय पठाउन अवसर मिल्ने नामसालिङ सामुदायिक विकास केन्द्र(एनसीडीसी)का वातावरण अधिकृत गुणराज खनालले जनाए । गाविस सचिव युवराज घोर्साइँले गाविसका सबै घरमा सुधारिएको चुल्हो निर्माण भएपछि गाउँमा सफा भान्छा कोठाको प्रयोग र धुवाँ प्रदुषणमा न्युनीकरण भएको बताए । घरभित्रको धुवाँ प्रदुषण मुक्त घोषणा भएपछि जीतपुरलाई राष्ट्रमै पहिचान मिल्ने उनले औँल्याए । 
जीतपुर इलाम जिल्लामा घोषणा गरिएको घर भित्रको धुवाँ प्रदुषण मुक्त गाविस मध्ये सातौँ हो भने निर्वाचन क्षेत्र नम्बर दुईमा तेस्रो गाविस हो । सचिव घोर्साइले सुधारिएको चुल्हो निर्माण अभियान अघि नै गाविसका दुई सय ५१ घरधुरीमा सुधारिएको चुल्हो निर्माण भइसकेको र अभियान पश्चात एक हजार दुई सय ८२ घरधुरीमा सुधारिएको चुल्हो निर्माण भएको जानकारी दिए । 
उनले प्रत्येक घरबाट चुल्हो बनाउने सामग्रीका लागि पाँचसय र ज्याला एक हजार गरि एक हजार पाँच सयका दरले घरधनीको खर्च भएको पनि जानकारी दिए । विभिन्न कारणले गाविसका अझै ३६ घर परिवारमा सुधारिएको चुल्हो निर्माण गर्न बाँकी रहेको उनले बताए । कुल जम्मा सुधारिएको चुल्हो निर्माण अभियानमा घोषणा सभा बाहेकको खर्च ३० लाख ६३ हजार भएको उनले सभामा जानकारी दिए । गाविसको यस अभियानमा आर्थिक रुपमा जिविस र प्राविधिक रुपमा एनसीडीसीले सघाएको बताइएको थियो ।
घोषणा सभामा जिविसका पूर्व सभापति हरिप्रसाद खनालले वातावरणमैत्री गाविसका रुपमा घोषणा सभाले परिचित गराएको बताए । यस्तै पूर्व गाविस अध्यक्ष गणेश बरालले गाउँलाई सबै जनताको सहयोगमा धुवाँ प्रदुषणमुक्त बनाउन पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा स्थानीय कलाकारहरुले गीत, नृत्य प्रस्तुत गर्नुका साथै लिम्बु जातिको ढोल नाच प्रस्तुत गरिएको थियो । गाविसका प्रमोटर र गाविस सहयोगीहरुलाई प्रशंसापत्र र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

0 प्रतिकृया: