धरतीमा अवरण गरेपश्चात्
लुम्बिनीको बाटो गरेर
पछ्याइहिँडेको छु भेट्न
आफैँसँग अलिकति माटो र देश बोकेर
सगरमाथा चिनाउने लक्ष्यमा ।
एउटा भव्य सुन्दर फूल मन्दिरको खोजीमा
निरन्तर–निरन्तर हिँडिरहेछ
सुनसान रातको अँध्यारो चिर्ने साहसका साथ
पिल्पीले बत्ती बालेर जुनकिरीले
फूललाई बाटो चिनाउने उद्देश्यमा छ
जसरी शरीरका नसाहरुमा
कर्णाली बगिहिँडोस् देश खोज्न
फर्काउन सुस्ता कालापानी ।
किन संगठित बन्न सकेका छैनन् ?
शिकारको लालचामा फँसेर
आकाशमा दौडिरहेका परेवा
जमिनतिर झार्न लल्लिन छन्
जंगेपिल्लर हराउनुसँग कुनै पर्वाह छैन
बरु, रातारात
सिङ्गो नेपाल सिर्जना गर्ने
महान् शालिकहरु ढालेर
जबरजस्ती व्यक्तिवादी मनोवृत्ति रोप्न खोज्छन् ।
त कहिले जून चोर्छन्
उज्यालो बाँढ्ने जुनकिरीका लासहरु
बेपर्वाह ढलिरहेछन् ।
मूलबाटो छेकेर सोधेको छु–
दिनदहाडै किन छायाँहरु हराउन थालेका छन् ?
उड्दै गरेको बादललाई
एकक्षण उभ्याएर सोधेको छु–
के तिमीले देख्यौ,
फूललाई निचोरेर लगेको रगत पिउनेहरु ?
यी शासकहरुले
जुनकिरीको छातीमा परेड खेलेनन् भनेर ?
0 प्रतिकृया:
Post a Comment