WHAT'S NEW?
Loading...

Chulachuli online Radio

निरन्तर पोस्टर कविता

 राजनीतिक नारा पोतिने सहरका भित्तामा यति बेला कविता पढ्न पाइन्छ । कविताको भाव अनुसारका कलात्मक स्केचसहित ।
हरेक दिन कोणसभाजस्तै कविहरू सडकका चोक र गल्लीहरूमा भेला भएर कविता सुनाइरहेका हुन्छन् ।
साहित्यिक समूह ‘उन्मुक्त पुस्ता’ ले थालेको ‘पोस्टर कविता अभियान’ ले एक महिना पूरा गरेको छ । संविधानमा दलित, जनजाति, महिला, मधेसीका साथै विभिन्न सीमान्तकृत समुदायको अधिकार सुरक्षित गर्न सिर्जनात्मक दबाब स्वरूप समूहले साउन ३० देखि अभियान सुरु गरेको थियो ।
‘हुन त साहित्य सधैं शक्तिको प्रतिपक्षमा हुन्छ भन्ने मान्यता छ,’ उन्मुक्त पुस्ताका कवि केशव सिलवालले भने, ‘हामीले साहित्यमार्फत शक्तिको पहुँचमा कहिल्यै पुग्न नसकेका र सीमान्तकृतको आवाज उठाउन खोजेका हौं ।’ हालै राजधानीमा ३० औं शृंखला मनाएको यो अभियानलाई निरन्तरता दिने पनि उनले जनाए ।
अभियानका क्रममा राजधानीका चोक–चोकमा पुगेर कविहरूले कविता वाचनसहित चित्र कविता समावेश पोस्टर टाँसेका थिए । अभियानले महिना दिन पूरा गरेपछि भने हरेक दिन पोस्टरिङ मात्रै गर्न थालिएको अर्का अभियन्ता कला अनुरागीले जनाए ।
अभियानको ३० औं शृंखलामा भूपाल राई, स्वप्निल स्मृति, निभा शाह, संगीतश्रोता, शकुन्तला जोशी, सविना सिन्धु, ज्वालामुखी लामिछाने, शोभा दुलाल, विना तामाङ सुनगाभा, लक्ष्मी रुम्बा, राजु स्याङ्तान, मोक्तान थेवासहित दुई दर्जन कविले रचना सुनाएका थिए । कवि आहुतिले युवा कविहरूले उत्पीडित र सीमान्तकृत समुदायका मुद्दालाई कविताको विषय बनाएर सुरु गरेको अभियानले नेपाली साहित्यिक आन्दोलनको इतिहासमा अर्थ राख्ने दाबी गरे ।
पुस्ताले अभियानका क्रममा दलित, जनजाति, महिला र मधेसी शृंखला एक–एक साता सञ्चालन गरेको थियो । शान्ति वाटिकाबाट सुरु भएको अभियान न्युरोड, सिफल, सुनधारा, कोटेश्वर, जाउलाखेल, स्वयम्भू, चाबहिल, मंगलबजार पाटन, सूर्यविनायक, चक्रपथ, सीतापाइला, बालाजु, वसुन्धरा, गौशाला, कालिमाटी लगायतका थलोमा सम्पन्न भइसकेको छ ।

0 प्रतिकृया: