WHAT'S NEW?
Loading...
Chulachuli online Radio
गीत गाउन काठमाडौं आएको थिएँ, तर...कालि प्रसाद रिजाल
कविले कविता लेख्छन् । गीतकारले गीत रचना गर्छन् । यो
सामान्य कुरा हो । तर मेरो जीवनमा उल्टोपनि भएको छ । मेरा कविता र गीतले मलाई लेखेका छन् । मेरो जीवनको दिशानिर्देश गरेका छन् । मेरा माता–पिता खेती र कृषिजन्य ब्यापारको सिलसिलामा विराटनगर बस्नुहुन्थ्यो । अध्ययनका लागि मलाई धरान पठाइयो । त्यसैले छुट्टीमाआक्कल–झुक्कल बाबु–आमासित भेट भएपनि मेरो अधिकाँश बाल्यकाल धरानमै बित्यो । बाबु-आमासित छुट्टिएर बस्नुपरेकाले मेरो स्वभाव अलि एकोहोरो र भावुक हुँदै गयो ।
तिनताका जातपात, छुवाछुत ब्याप्त थियो । ‘तल्लो वर्ग’का गरिबहरु विभिन्न प्रकारको शोषण, उत्पीडन र अन्याय सहन बाध्य थिए । नारी जाति चर्को बुहार्तन, भेदभाव र बन्धनमा जकडिएका थिए । आफूपनि अपहेलित र उपेक्षित अनुभव गरिरहेको मेरो बालमस्तिष्कमा यसको प्रभाव पर्नु स्वभाविकै थियो । फेरि धरान त्यसबेला बामपन्थीहरुको गढ मानिन्थ्यो । स्कुलमा पढ्ने विद्यार्थीहरुलाई बामपन्थी कार्यकर्ताहरु भूमिगतरुपमा प्रगतिशील शिक्षा र तालिम दिने गर्दथे । केही समय मैले पनि यस्ता तालिमहरुमा भाग लिएको थिएँ ।
सुरुदेखि आजसम्मका मेरा रचनाहरुको विश्लेषण गर्ने हो भने आममान्छेको भोगाइ, अनुभूति र जीवनलाई नै मैले वाणी दिने प्रयास गर्दै आएको स्पष्ट हुन्छ । आममान्छेको सुख–दुःखलाई आममान्छेले बोल्ने भाषामा अभिव्यक्त गर्दै आएको छु । समाजमा विद्यमान बेथिति–विकृतिमाथि प्रहार गर्दै आएको छु ।
तिनताका काठमाडौंबाहिरका विद्यार्थीहरु उच्च शिक्षाका लागि भारत जाने गर्दथे । हाम्रो परिवारमा धेरै पुस्तादेखि ‘काशीबास’ गर्ने परम्परा भएकाले मेरा काका र दाई सबैले बनारसबाटै उच्च शिक्षा हासिल गरेका थिए ।
सानो छँदा आमाको मुखबाट सुनेका कविताका सर्जकहरुको दर्शन गर्ने उत्कृट अभिलाशा मेरो मनमा भएकाले २०१३ सालमा एसएलसी पास गरेपछि अग्रजहरुको दबाबविरुद्ध निकै ठूलो संघर्ष गरेर म उच्च अध्ययनका लागि काठमाडौं आएँ । कविताले मलाई काठमाडौं ल्यायो । वास्तवमा त्यसबेला मेरो मनमा रेडियोमा गीत गाउँछु भन्ने थियो । धोको पनि ।
त्यसबेलाका चर्चित गीतकार माधवखनाल‘भावुक’को सिफारिसपत्र बोकेर आएको थिएँ । तर काठमाडौंका गोष्ठीहरुमा लेखनाथ, देवकोटा, सम, सिद्धिचरणदेखि लिएर विजय मल्ल, भूपी शेरचन, भीमदर्शन रोकाजस्ता कविहरुको कविता सुनेपछि म मन्त्रमुग्ध भएँ । गीत गाउने, लेख्ने कुरालाई चटक्क छोडेर म कविता लेखनमा केन्द्रित भएँ ।
त्रिचन्द्र कलेजबाट निस्कने ज्योति पत्रिकाको आयोजनामा २०१४ सालमा भएको अन्तर कलेज साहित्य प्रतियोगितामा मेरो ‘मायाको प्रदेश’कविता पुरस्कृत भयो । मैले पहिलोपटक राजा महेन्द्रको हातबाट पदक तथा प्रमाणपत्र प्राप्त गरें । त्यसपछि मेरा कविताहरुले काठमाडौंका पत्रपत्रिकामा स्थान पाउन थाले । गोष्ठीहरुमा मलाई पनि बोलाउन थालियो ।
त्रिचन्द्र कलेजबाट वाणिज्य शास्त्रमा स्नातक गरेपछि मैले बनारस विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए पास गरेँ । यसैबीच, २०१९ सालमा मेरो पहिलो कवितासंग्रह ‘ज्वारभाटा’ बनारसबाट प्रकाशित भयो । परीक्षापास गरेर बसेकै बेला मैले नेपाल साहित्य संस्थानको तत्वावधानमा २०२० सालमा काठमाडौंमा हुन लागेको बृहत राष्ट्रव्यापी साहित्य सम्मेलनमा कोशी अञ्चलबाट भाग लिने मौका पाएँ । सम्मेलनको समापनमा राष्ट्रिय नाचघरमा भएको कविगोष्ठीमा मैले सुनाएको ‘मान्छेहरु भन्छन्’कविता निकै चर्चित भयो ।
बालकृष्ण सम, माधव घिमिरे, विजय मल्ललगायत अन्य कविहरुका साथ मैले पनि तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति राजा महेन्द्रबाट एकेडेमी पदक प्राप्त गरें । अन्य पुरस्कृत कविहरुका साथ मैलेपनि पहिलोपल्ट ‘बेलायती बैठक’मा राजा महेन्द्रसित प्रत्यक्ष रुपमा कुरा गर्ने अवसर पाएँ ।
‘मायाको प्रदेश’ र ‘मान्छेहरु भन्छन्’ यी दुबै कविता मेरो पहिलो कवितासंग्रह ‘ज्वारभाटा’मा संग्रहित छन् ।
0 प्रतिकृया:
Post a Comment